भरतपुर । राप्ती–७ की ३० वर्षीया जानकी पुनको रेविजका कारण निधन भएको छ । केही महिनाअघि गाउँकै एक कुकुरले टोकेकोमा चैत अन्तिम हप्ता उपचारको क्रममा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । पुनसहित चितवनमा गत वर्ष २ जनाको मृत्यु भएको छ । यो रोग खासगरी रोगी जनावरले टोकेको अवस्थामा ¥यालको माध्यमबाट सर्दछ ।
पुनको मृत्युपश्चात् गाउँमा रेविजको त्रास फैलिएको छ । गाउँलेहरु अहिले समूहमा सुई लगाउन आउन थालेको अस्पतालका निमित्त मेसु डा. युवानिधि बसौलाले बताए । ‘अहिले पनि दिनको २० जनाजति रेविजविरूद्धको सुई लगाउन आउँछन्, डा. बसौलाले भने, ‘धेरैजसो मानिसहरु कुकुरको टोकाइका कारणले सुई लगाउन आउँछन् ।’ बच्चाको हकमा सुरूको पटक, तेस्रो दिन, ७औँ दिन र १४औँ दिनमा सुई लगाउनुपर्छ । ठूलो मानिसले १४औँ दिनको सुई लगाउन पर्दैन ।
रेविज शतप्रतिशत प्राणघातक रोग हो । तर, सबैभन्दा मह¤वपूर्ण कुरा के हो भने रेविज शतप्रतिशत रोकथाम गर्न सकिने रोग पनि हो । जंगली जनावार जस्तैः ब्वाँसो, फ्याउरो, स्याल आदिको शरीरमा रहेको रेविज भाइरस घरपालुवा जनावर या जुनसुकै स्तनधारी जनावर वा जंगली जनावरको संसर्गमा पुग्दा रेविज सर्न सक्छ । र, यस्ता जनावरले फेरि अन्य स्तनधारी जनावर या मान्छेलाई यो रोग सार्न सक्छन् ।
मानिसहरुमा ९६ प्रतिशत रेविज रोग कुकुरको टोकाइबाट सर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले भने, ‘घरपालुवा कुकुरसँग खेल्दा, जिस्कँदा पनि यसको टोकाइबाट रोग सर्न सक्छ, सचेत हुन आवश्यक छ ।’ रेविज रोगको शतप्रतिशत रोकथाम सम्भव छ, तर रोकथाममा हेल्चेक्र्याइँ ग¥यो भने यो रोग शतप्रतिशत प्राणघातक पनि छ’, डा. अधिकारीले भने ।
यसका अलावा अन्य जनावरहरु जस्तैः बिरालो, न्याउरी मुसा, स्याल, ब्वाँसो, फ्याउरो र अन्य मांसाहारी जनावरहरुको टोकाइबाट पनि रोग सर्ने गरेका रिपोर्टहरु छन् ।
रेविज रोगको लक्षण देखिनासम्म लाग्ने अवधि प्रायः २०–९० दिनसम्म हो, तर कहिलेकाहीँ एक वर्षभन्दा पनि बढी हुन सक्छ । रेविज रोग लागेको कुकुरमा देखिने प्रमुख लक्षण नै सामान्य बानीव्यहोरामा परिवर्तन देखा पर्नु हो, जस्तैः बिनाकारण टोक्ने, अस्वाभाविक वस्तुहरु जस्तैः लठ्ठी, काँटी, दिसा आदि खाने, बिनाकारण जथाभावी दौडने, अत्यधिक ¥याल काढ्ने वा मुखको च्यापवाट फिँज आउने, तर पानीदेखि नडराउने ।
मानिसमा रेविज रोगका लक्षणहरुमा घाउ भएको भाग दुख्ने र चिलाउने, २ देखि ४ दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने, घाँटी दुख्ने, चिडचिडाहट हुने, रिसाउने, कहिलेकाहीँ उत्तेजित भई झम्टने र कहिले चुपचाप शान्त भई बस्ने र अन्त्यमा ¥याल चुहाउने, अरुलाई टोक्न खोज्ने, बिस्तारै हातगोडा नचल्ने हुँदै मृत्यु हुन्छ । स्वास्थ्यकर्मीहरुको सिफारिसअनुसार पाल्तु कुकुर वा बिरालोहरुलाई नियमित खोप लगाउनुपर्छ ।