बाँकेमा दुई समुहबीच झडप हुँदा १ जनाको मृत्यु , ९ घाइते

बाँकेमा दुई समुहबीच झडप हुँदा १ जनाको मृत्यु , ९ घाइते

Sell & Get Post Ads

दाङ – बाँकेमा दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ।

घटनामा ९ जना घाइते भएका छन्।

सोमवार बेलुका जिल्लाको जानकी गाउँपालिका वडा नं. ५ बनियाँ गाउँमा यादव र गुप्ता समूहका बीचमा पुरानो रिसिबीलाई लिएर भएको झडपमा परि स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ।

उनको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिए।

मृतक यादवको टाउकोमा गहिरो चोट लागेको थियो।

पूर्णिमाको अवसरमा सोमबार बेलुका गुरुवा गाउँ मेला लागेको थियो। सोही मेलामा पुगेका बाबुलाल यादवको समूहले पुरानो रिसीबी कारण नरेश गुप्तामाथि बेलुका ६ बजेतिर कुटपिट गरेका हुन्।

त्यसपछि थप दलबलसहित पुगेका दूई समुहका बीचमा हात, खुट्टाका साथै लाठी, भाटाले समेतले कुटाकुट भएको डिएसपी खड्काले बताए।

घाइते ९ जनाको बाँकेमा उपचार भइरहेको डिएसपी खड्काले जानकारी दिएका छन्।

घाइते मध्ये टाउकोमा चोट लागेका रामनारायण गुप्ताको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य भएको जिल्ला प्रहरी प्रवक्ता खड्काले बताए।

यसैबीच प्रहरीले दुबै समुहका गरि झडपमा संलग्न ११ जनालाई गए राति नै नियन्त्रणमा लिएको जनाएको छ।

झडपमा संलग्न रहेका मध्य केही फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। दुई समुहका बीचमा झडप भएपछि बनियाँ र आसपासको क्षेत्र बेलुकादेखि रातभर तनावग्रस्त बनेको थियो।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी प्रबक्ता खड्काको कमाण्डमा झन्डै एक सयको हाराहारीमा नेपाल प्रहरी र २५ जना सशस्त्र प्रहरी परिचालन भएको प्रहरीले जानकारी दिएको छ।

‘घटनास्थलवाट म पनि विहान २ बजेमात्रै फर्किएको हो,’ डिएसपी खड्काले भने ‘अहिले पनि प्रहरी र सशस्त्र प्रहरीको एउटा टोली त्यही खटिएको छ।’

उनले अहिले त्यहाँको स्थिति सामान्य भइसकेको जानकारी दिए।

Sell & Get Post Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *